‘विकिपीडिया शुन्य’ले नेपालमा विकिपीडियालाई तीब्रता दिन सक्छ

नेपाली विकिपीडियाको मुख्यपेज

बैशाख २३, २०७१ का दिन नेपालको एउटा मोवाइल कम्पनी एनसेलले नेपालमा विकिपीडिया शुन्य सुरू गरेको घोषणा गरेको छ। नेपालजस्तो ९० प्रतिशत भन्दा बढी इन्टरनेट प्रयोगकर्ताले मोवाइल बाट इन्टरनेट चलाउने मुलुकमा विकिपीडिया शुन्य ज्यादै नै उपयोगी सेवा हुने अपेक्षा गरिएको छ। यसको प्रयोगबाट अति दुर्गम भेकमा बस्ने नेपालीहरूले विकिपीडियाको विशाल ज्ञान भण्डारमा मोवाइल डाटा शुल्क नतिरी पहुँच बनाउन सक्छन्।

यो समाचारले विकिपीडियाको स्थानीय समुदाय, विकिपीडिया शिक्षा कार्यक्रमका अगुवाहरू, विकि प्रोजेक्ट मेडका स्वयंसेवीहरू लगायत सबै विकिपीडियनहरू उत्साहित भएका छन्।

राज्यको स्वामित्व रहेको ठूलो मोवाइल सेवा प्रदायक नेपाल टेलिकमको मोवाइलमा पनि यो सेवा दिनका लागि उत्साहित गर्न विकिपीडिया शुन्य र नेपालका विकिमीडियनहरूले छलफल अघि बढाएका छन्।

विकिपीडिया शुन्य सुरू भएपछि पछिल्ला बर्षमा प्रभावकारी शैक्षिक सामग्री बन्दै गैरहेको विकिपीडियाको उपयोग र विस्तार दुवैले तीब्रता पाउनेछ। नेपाली, नेवारी, भोजपुरी, पालि, संस्कृत गरी नेपालका ५ वटा भाषामा विकिपीडिया छन्। अरू दशवटा भाषाका विकिपीडिया बन्ने क्रममा छन्। १ सय २३ भाषा बोलिने नेपालमा स्थानीय भाषाका सामग्रीको निर्माण र प्रयोग गर्न यसले बाटो खोल्नेछ।

विकिपीडिया शुन्य के हो त?

मिस नेपाल सम्बन्धी लेख सम्पादन गर्दै एक विकिपीडियन

विकिपीडिया शुन्य अर्थात् Wikipedia Zero मोवाइलमा प्रदान गरिने सेवा हो। यो सेवामा मोवाइल इन्टरनेट प्रयोगकर्ताले विकिपीडियाको लेख खोल्न (ब्राउज गर्न) इन्टरनेटको शुल्क तिर्नु पर्दैन। शुन्य शुल्कमा खुल्ने भएकाले यसलाई विकिपीडिया शुन्य भनिएको हो।

विकिमीडिया फाउन्डेशनले मोवाइल सेवा प्रदायक (अपरेटर) सँग मिलेर त्यस्तो निःशुल्क सेवा दिने गर्दछन्। यो निःशुल्क सेवा विकिपीडिया भित्रका पृष्ठहरूमा मात्र हुन्छऽ बाह्य लिङ्क क्लीक गरेर बाह्य पृष्ठमा जान चाहेमा त्यसको भने शुल्क लाग्छ। यसरी बाह्य लिङ्कबाट अन्य पृष्ठमा जानेबेलामा ‘यो सेवा प्रयोग गर्दा तपाईंलाई शुल्क लाग्नेछ’ भन्ने सन्देश देखाउँछ।

नेपालमा सुरू गरिएको विकिपीडिया जीरो सेवा प्रयोग गरी नयाँ लेख लेख्न र सम्पादन गर्न पनि मिल्ने एनसेलले प्रष्ट पारेको छ। यो समाचार अझ उत्साहवर्द्धक छ खासगरी मोवाइल बाट विकिपीडिया सम्पादन गर्ने विकिपीडियन हरूका लागि। यसले नेपाली र अरू भाषाका विकिपीडियामा सामग्री थप्ने कार्यमा अझै धेरै मानिसहरूलाई उत्प्रेरित गर्ने आशा गर्न सकिन्छ।

विकिपीडिया जोसुकैले निःशुल्क प्रयोग गर्न पाउने खुला ज्ञानकोष हो । यो नेपाली लगायत विश्वका धेरैजसो भाषामा बनिसकेको छ। विकिपीडियामा भएको ठूलो ज्ञान संग्रहका कारण यो विश्वकै लोकप्रिय अनलाइन सन्दर्भ सामग्री बन्दै गैरहेको छ। हाल २८७ भाषामा बनिसकेको विकिपीडिया विश्वकै सबैभन्दा धेर हेरिने वेवसाइट मध्ये पाचौं स्थानमा पर्न आउँछ।

विकिपीडिया शुन्य विकिमीडिया फाउण्डेशनले सन् २०१२ मा इन्टरनेट सेवाको अति कम पहुँच भएका देशहरूलाई लक्षित गरेर सुरू गरेको थियो। पहिलो पटक विकिपीडिया शुन्य मध्य अफ्रीकी देश युगाण्डामा सन् २०१२ को अप्रिलमा सुरू भयो। अहिले यो भारत लगायत एशिया र अफ्रिकाका विभिन्न देशहरूमा कार्यान्वयन भैसकेको छ। यो सेवा सुरू गर्ने देशहरूमध्ये नेपाल अहिलेसम्मको कान्छो देश हो।

नेपाली विकिपीडियाका सिसप राम प्रसाद जोशी जो मोवाइल फोनबाट मात्र विकिपीडिया सम्पादन गर्छन्

विकिपीडिया शुन्य सुरू भएको शुभ समाचार सँगसँगै यसको कार्यान्वयनमा केही चुनौतीहरू पनि छन्। दुर्गम भूबनोटका कारण अझै पनि नेपाली हरू मोवाइल इन्टरनेटमा मात्र सिमीत हुन बाध्य छन्। ब्रोडब्याण्ड इन्टरनेटको सुविधामा थोरै मानिसको मात्र पहुँच छ। यस्तो अवस्थामा नेपाली जनताले विकिपीडिया शुन्य बाट अनलाइन विश्वकोषमा पहुँच बनाई आफ्नो ज्ञानको भोक मेटाउन सक्नेछन्। तर नेपाली लगायत स्थानीय भाषाको सामग्री पढ्नका लागि नेपाली पाठ पढ्न मिल्ने मोवाइल उपकरण चाहिन्छ। सबै नेपालीसँग त्यस्ता उपकरण छैनन्। अंग्रेजी भाषाका पाठ पढेर बुझ्ने मानिस कमै छन्। यी कठिनाईहरूका बीच नेपालमा विकिपीडिया शुन्यको अर्थपूर्ण उपयोगका लागि अझ केही समय लाग्ने देखिन्छ।

एउटा भनाई छ ‘अल्लाहके घरमें देर है अंधेर नहीँ’ ढीलै भएपनि यस्ता प्रविधिको उपलब्धताले मानिसहरूलाई समयको गतिलाई पछ्याउन उत्साहित गर्दछ। विकिपीडिया शुन्यको सफल कार्यान्वयन मोवाइल सेवा प्रदायकहरूमा निर्भर गर्दछ। एउटा-दुईटा सेवा प्रदायकले मात्र ल्याउँदैमा सबै उपभोक्ताले यो सेवा चलाउन पाउने स्थिति हुँदैन। सबै मोवाइल सेवा प्रदायकले सेवा सञ्चालन गरे भने मात्र सबै जनताले निःशुल्क विकिपीडिया प्रयोग गर्ने सेवा उपयोग गर्न पाउँछन्। आफ्ना उपभोक्तालाई यस्ता उपयोगी सेवा दिन मोवाइल सेवा प्रदायकहरू अग्रसर हुनैपर्छ। अनि मात्र विकिपीडिया जस्तो विशाल ज्ञान भण्डार उपयोगको सफल कार्यान्वयन भएको मानिनेछ र यसले आम नेपालीको शैक्षिकस्तर उकास्न साँच्चिकै मद्दत गर्नेछ।

-गणेश पौडेल user:Ganesh Paudel Email: gpaudel@gmail.com

Citation:

  1. http://www.ncell.com.np/About-Us/Details.aspx?CPZhazlfOx41Heek1/gauHZYBBhSme1CLf+eK562bls=
  2. http://www.thehimalayantimes.com/fullNews.php?headline=Ncell+brings+Wikipedia+Zero+offer+&NewsID=414034
  3. http://www.onlinekhabar.com/2014/05/196325/ (in Nepali Language)
  4. http://ekantipur.com/np/2071/1/24/full-story/388757.html (in Nepali Language)
  5. http://ekantipur.com/2014/05/07/business/ncell-offers-free-access-to-wiki/389260.html
  6. http://www.news24nepal.tv/n24/index.php?option=com_content&view=article&id=2221:2014-05-06-12-37-20&catid=98:businessreport&Itemid=521 (in Nepali Language)
  7. http://www.newsofnepal.com/new/money/2014/05/53146 (in Nepali Language)
  8. http://www.radiomithila.com.np/index.php?option=com_content&view=article&id=1909:2014-05-06-11-28-48&catid=3:news&Itemid=10 (in Nepali Language)
  9. http://www.bizmandu.com/content/-6917.html#.U2nspIGSzTo (in Nepali Language)
  10. http://imagekhabar.com/samachar/detail/37897/63/.shtml (in Nepali Language)
  11. http://www.abhiyan.com.np/article-news_23baishakh2071_ncell#.U2oKYYGSzTo (in Nepali Language)
  12. http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=74242

Archive notice: This is an archived post from blog.wikimedia.org, which operated under different editorial and content guidelines than Diff.